शान्ति युवा विकास मञ्चको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

शान्ति युवा विकास मञ्चको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

रन्जित चौधरी, जीतपुर, बारा, पौष १४

बाराको जीतपुरमा शान्ति युवा विकास मञ्च नामक सामाजिक संस्थाले आज नि:शुल्क आँखा चेकजाँच तथा परामर्श शिविरको आयोजना गरेको छ । शान्ति युवा विकास मञ्चले आफ्नो संस्थाको स्वास्थ्य क्षेत्रको उद्देश्य अनुरुप नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको हो ।

वि.सं. २०६६ मा स्थापना भएको यस शान्ति युवा विकास मञ्चले विगतमा पर्यावरण संरक्षण, सरसफाइ, खेलकुद, स्वास्थ्य तथा समाजसेवा क्षेत्रमा अद्वितीय योगदान दिँदै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । आँखासम्बन्धी समस्याको चेकजाँच तथा उपचारबाट वञ्चित रहेका सर्वसाधारण जनताको सहजताको लागि नि:शुल्क आँखा शिविरको आयोजना गरिएको शान्ति युवा विकास मञ्चका अध्यक्ष योगेश अधिकारीले बताउनुभयो ।

संस्थाका सल्लाहकार मनोहर सोनीको संयोजकत्वमा आयोजना गरिएको उक्त आँखा चेकजाँच शिविरमा पर्साको वीरगंजमा अवस्थित शिवा आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । शिवा आँखा अस्पतालको विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोली खटिएको उक्त शिविरमा १ सय ६० जनाले आँखाको चेकजाँच गराएको तथा तीमध्ये ३८ जनामा मोतीबिन्दुको समस्या फेलापरेको शिविरमै खटिनुभएका चिकित्सक सोनी कुमारी देवीले जानकारी दिनुभयो ।

शिविरमा आई चेकजाँच गराउने व्यक्तिहरुलाई आँखाको रेखदेखसम्बन्धी आवश्यक परामर्श दिनुको साथै नि:शुल्क रुपमा औषधीहरुसमेत वितरण गरिएको शान्ति युवा विकास मञ्चका सल्लाहकार रन्जित चौधरीले जानकारी दिनुभयो । कुनै पनि व्यक्तिले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्य राखी आयोजना गरिएको यस शिविरमा आँखासम्बन्धी समस्याको पहिचान भई समयमै उपचारमा सहयोग पुग्ने संस्थाको अपेक्षा रहेको चौधरीले बताउनुभयो । शिविरमा चेकजाँच गराएर औषधी हातमा बोकी हँसिलो मुहार पार्दै घर फर्किरहेका अनेकौं वृद्धवृद्धालाई हेरेर आफू निकै भावुक बनेको कुरा संस्थाका भूतपूर्व अध्यक्षसमेत रहेका दीपक गुप्ताले बताउनुभयो ।