क्रियाशील पत्रकारहरूको बीमा सम्झौता गरिने

जनकपुरधाम, १३ पौष :
मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने भएको हो ।

जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा सम्झौता गरिएको छ । राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।
मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य तथा ७ लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँ सम्झौता गर्न लागेको बताउनुभयो । यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा मिडियाको सिफारिसमा गरिने जानकारी दिनुभयो ।नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गर्नुभयो । राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रामप्रसाद चौधरी, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव रिजाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले कुल ३० लाख रुपैयाँ बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।