मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कर्मचारीहरूले दिए धर्ना
जनकपुरधाम १२ पौष :
स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शुक्रबार बिहानैदेखि उनीहरू धर्नामा दिएका हुन ।
मधेश सरकारले केही महिना अघि बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ मा त्रुटि हुँदा आफूहरू समस्यामा परेको स्थानीय तहका कर्मचारीहरूको गुनासो छ ।
मधेश प्रदेशका स्थानीय सरकारी सेवाका स्थायी कर्मचारीहरूको सरूवा, पदस्थापना तथा स्तरवृद्धिमा ढिलाइका कारण वृद्धि विकास रोकिनुका साथै कर्मचारीमा तनाव उत्पन्न हुन पुगेको धर्नामा बसेका कर्मचारीले गुनासो गरे ।
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मौनताको कारण कर्मचारी समस्यामा परेको उनीहरूको गुनासो छ । पदस्थापन नगरेसम्म धर्ना जारी रहने कर्मचारीहरूको भनाइ छ ।