भुमिअधिकार तथा श्रमिक संगठनकाे बैठक : सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन माग


मनाेज शाह जितपुर बारा पुस ९ गते :
नेकपा एमालेको जनसंगठन भुमी अधिकार तथा श्रमिक संगठन,नेपाल,मधेस प्रदेश कमिटीको बैठक पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तिमा सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पौडेलले श्रमजीवी जनताको मुक्तिको आन्दोलनका लागि श्रमिक संगठन लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भूमिहीन श्रमिकको पक्षमा एमालेले मात्रै काम गरेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले असंगठित क्षेत्रका श्रमिकहरूले दिनमा ५ किलो अनाज ज्याला पाउने गरेको, कतिपय ठाउँमा कम ज्यालामा काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै योग्यता अनुसारको काम काम अनुसारको दामका लागि सबै गोलबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो।

भुमिहिन श्रमिक संगठनका महासचिव इन्द्र लामाले भूमिहीनहरूको समस्या समाधान गर्नका लागि संगठन लागिपरेको उल्लेख गर्दै श्रमिकको हरेक दुःख सुखको साथी आफ्नो संगठन भएको दाबी गर्नुभयो ।
संगठनका मधेश प्रदेश कमिटीका अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका उपाध्यक्ष तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य गुन्ज खड्का,संगठनका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रमेश सापकोटा, एमाले मधेस प्रदेशका सदस्य ढुण्डिराज उप्रेती, जिल्ला सदस्य सरिता सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
बैठकले पौष मसान्तभित्र जिल्ला अधिवेशन तथा बैठक गरिसक्ने र फागुन मसान्त भित्र मधेश प्रदेशका सबै वडाहरूमा सदस्यता बितरण तथा वडा कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। साथै बैठकले भूमिहीन तथा सुकुम्बासीहरूको तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।