जितपुरसिमरा उपमहानगरपालिकामा सयौं घर डुबानमा

मनाेज शाह जितपुर बारा भदौ ६ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ५ बालुवाटाेलमा वर्षासंगै आएको बाढी बस्तीमा पसेपछि सात जानकाे घर भत्किएको छ। बर्षापछि सिरिसिया खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय लक्षुमान ठाकुर ,जितेन्द्र पासवान ,साेनालाल पासवान ,उमेस पासवान ,सुरेश पासवान ,अकलेश पासवान ,दिपेन्द्र पासवान ,रामयाण मालीकाे पुसकाे घर भत्किएको हो।

यता जीतपुरसिमरा उपमहानगरपालिका– २ स्थित भख्रखाेलकाे पानी शान्ति टोल डुबानमा परेको छ। अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो। बस्ती डुबानमा परे पनि मानिस सुरक्षित छन्। वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबाएको छ।

यसैगरी बाढीले शुक्रबार बिहान जीतपुरसिमराको जितपुर बजार,सिमरा बजार एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको थियो। वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी भने घटेको छ। बर्षाले सडक जलमग्न बनेपछि केही विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका थिए।

जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। बाढीले स्थानीयस्तरमा क्षति पुर्याएपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भईरहेको छ।