बंगलादेशको बदलिँदो राजनीतिले बिजुली निर्यात गर्ने नेपालको योजनामा धक्का, त्रिपक्षीय सम्झौता नै अनिश्चित

काठमाडौं- बंगलादेशमा जारी आन्दोलन र त्यसका कारण भिन्न बनेको राजनीतिक परिस्थितिले गर्दा नेपालबाट बंगलादेशमा बिजुली निर्यात अनिश्चित भएको छ।साउन १३ गते भारत, नेपाला र बंगलादेशबीच हुने भनिएको सम्झौतासमेत बंगलादेश भइरहेको आन्दोलनका कारण नै रोकिएको थियो। सम्झौता रोकिएसँगै चालु वर्ष नै नेपालबाट बंगलादेश बिजुली निर्यात गर्ने योजना अनिश्चित बनेको छ।
नेपालबाट बंगलादेशमा बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि पहिलोपल्ट तेस्रो मुलुकमा बिजुली निर्यातको बाटो खुल्ने भन्दै नेपाल उत्साही थियो। सन् २०२१ देखि नेपालले भारतमा प्रतिस्पर्धात्मक विधिबाट बिजुली निर्यात गर्दै आएको छ।

नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच साउन १३ गते त्रिपक्षीय सम्झौता हुने तय भएको थियो।सम्झौताअनुसार ५ वर्षसम्म प्राधिकरणले वर्षायामको ६ महिना (हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म) ४० मेगावाट बिजुली प्रतियुनिट ६ दशमलव ४ अमेरिकी सेन्टका दरले बंगलादेशलाई बेच्ने तयारी नेपाल विद्युत प्राधिकरणको थियो। तर बंगलादेशमा जारी विद्यार्थी आन्दोलन थप हिंसात्मक बन्दै सरकार प्रमुख नै मुलुक छोडेर भागेपछि यही वर्षायाममा बिजुली निर्यात गर्ने योजना रोकिने देखिएको छ।  

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने तय थियो। अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने गरी प्रक्रिया अगाडि बढाइएको थियो। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ। 

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिने योजना रहेको छ। उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ। 

बैठकमा ६८३ मेगावाट क्षमताको सुनकोशी-३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन लागि संयुक्त सम्झातौमा समेत हस्ताक्षरको तयारी गरिएको थियो। निर्यात सुरु भएपछि बंगलादेशले १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजना र ६८३ मेगावाटको सुनकोसी तेस्रोलाई लगानी गर्नेगरी प्रस्ताव गरिसकेको छ। १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजनाको लागत २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ र ६८३ मेगावाटको सुनकोसी तेस्रो आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ। दुवै आयोजनाको लागत करिब ५ खर्ब रुपैयाँ हाराहारी हुनेछ। जसमा लगानी गरेर निर्माण गरी बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने तयारी बंगलादेशको रहेको थियो।

बंगलादेश र भारतले बिहारको कटिहारबाट आसामको बोरनगर हुँदै बंगलादेशको दिनाजपुरको पार्वतीपुरसम्म ७६५ केभी उच्च क्षमताको अन्तरदेशीय प्रसारण लाइन बनाउने तयारी छ।सभार बिजनेस न्युज । यसअघि बंगलादेश र भारतले चार छिमेकी मुलुक नेपाल, भुटान, भारत र बंगलादेशलाई जोड्न अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्ने सहमति गरेका थिए।