सडक स्तरोन्नति गर्न विश्व बैंकको १३ अर्ब ऋण

नेपालको प्रादेशिक र स्थानीय सडक स्तरोन्नतिका लागि विश्व बैंकले करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । यसका लागि विश्व बैंक र नेपाल सरकारबीच सोमबार सम्झौता भएको छ । 

अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)मार्फत सय मिलियन अमेरिकी डलर (१३ अर्ब ४३ करोड रुपैयाँ)को सहुलियतपूर्ण ऋणका लागि नेपाल र विश्व बैंकले वित्तीय सम्झौता गरेका हुन् । आइडिए विश्व बैंकअन्तर्गतको संस्था हो । सम्झौताअनुसार नेपालका प्रादेशिक र स्थानीय सडक सञ्जाल निर्माण, स्तरोन्नतिलगायतमा उक्त ऋण खर्च गरिनेछ । त्यस्तै, सडक सञ्चालन व्यवस्थापनका लागि सरकारी क्षमता सुदृढ गर्नसमेत यो रकम खर्च गरिनेछ । 

प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रम फेज–१ ले करिब तीन हजार किलोमिटर सडकलाई सबै मौसममा सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गरिनेछ । प्रादेशिक र स्थानीय सडक र पुलहरूको निर्माण र मर्मत गरिने यस परियोजनाअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका करिब एक लाख जनता लाभान्वित हुने बताइएको छ । 

वित्तीय सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. रामप्रसाद घिमिरे र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय प्रमुख डेविड सिसलेनले हस्ताक्षर गरेका हुन् । 

‘यो कार्यक्रम ग्रामीण सडक सञ्जाल विस्तार गर्न सेवाहरू र बजारमा पहुँच बढाउन र नेपालको आर्थिक सम्भावनालाई खोल्न मद्दत गर्नेछ,’ अर्थसचिव घिमिरेले बताए ।सभार नयाँ पत्रका । यस्तै, यस कार्यक्रमले नेपालीको यात्रा समय र लागतसमेत घटाउने उनले बताए ।