टीआरसी विधेयकमा सहमति जुटाउन बैठक जारी, को-को छन् सहभागी ?

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी रहेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई अन्तिम रुपमा दिन आज पनि सिंहदरबारमा बैठक बसेको हो।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलमा एमालेका मुख्यसचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र कांग्रेस नेता रमेश लेखक छन्। विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भइसकेको बताइएको छ। द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जाने विषयलाई कस्तो भाषामा उल्लेख गर्ने भन्ने विषयमा बहसमा छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पीडितलाई केन्द्रमा राखेर टुंग्याउनका लागि असहमतिका चार बुँदामा सहमतिका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको छ। मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्यायाधिवक्ताले गम्भीर मानव अधिकार उल्लंघनको विषयमा घटि माग दाबी लिएर जाने विषयमा सहमति नजिक पुगेको कार्यदलका सदस्यको भनाई छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको सहभागिता छ।

बैठकले अन्तिम प्रतिवेदन तयार गरेर शीर्ष तहलाई बुझाउने तयारी छ।