बेलगाछी पुलमा क्षति गरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी ढुंग्रे खोलामा आएको बाढीले बेलगाछी पुलमा क्षति पुर्‍याएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

बर्दिबास नगरपालिका-५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा बाढीले क्षति पुर्‍याएको हो । गएराति आएको बाढीले पुलसँग जोडिएको दक्षिणतीर करिब ५/६ फिट सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

पुलमा बाढीले क्षति पुर्‍याएपछि आज बिहानसम्म राजमार्गमा सैयौं सवारीसाधन अलपत्र परेका थिए । प्रहरी पुलक्षती ग्रस्तस्थल पुगेपछि वैकल्पिक बाटो प्रयोग गरेर सवारीसाधन गन्तव्यमा पुर्‍याएको छ ।

अहिले सवारीसाधनहरू माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा पुगेर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किन्छ । यो वैकल्पिक बाटोबाट सवारी साधन आवतजावत गर्ने गरेको डीएसपी जयसवालले बताए ।

उनका अनुसार बाढीले क्षति पुर्‍याएको ठाउँमा अहिले मर्मतको काम चलिरहेको छ । मर्मत गर्न वा राजमार्ग कतिखेरदेखि सुचारु हुन्छ निश्चित नभएको उनको भनाइ छ