भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, उद्धार कार्य जारी

भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या एक सय ४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ।विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्‍याएको जनाइएको छ ।

यसैबीच, मंगलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ । मंगलबार संघीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडीआरएफ, सीआरपीएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरकोसमेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराए ।

मन्त्री जर्जले यसअघि, वायनाड पहिरोकोे जारी अवस्थाको मूल्यांकन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यबस्था मिलाउन निर्देशन दिए । मन्त्री जर्जले आवश्यकताअनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिससमेत गरे ।सभार नया पत्रका । यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ।