बारामा एक युवक चोरी गरी भाग्ने क्रममा पक्राउ

बारामा एक युवक चोरी गरी भाग्ने क्रममा पक्राउ

रन्जित चौधरी, बारा, श्रावण २ गते :

बारा जिल्लाको कलैयामा एकजना युवक चोरी गरी समान लिएर भाग्ने क्रममा पक्राउ परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. ६ पावर हाउसस्थित उपेन्द्र जयसवालको घरमा गत असार ३० गते राति घरमा कोही नभएको मौकामा एक युवकले चोरीको घटना घटाएको हो ।

कलैया उपमहानगरपालिका वडा नं. १० निवासी संजय सराफको छोरा १८ वर्षीय राहुल सराफले उपेन्द्र जसवालको घरमा कोही नभएको मौका छोपी घरभित्र प्रवेश गरी उनको घरबाट एक थान एल.इ.डी. टि.भी., एक थान आइरन चोरी गरेका थिए । उनले चोरी गरेका ती वस्तु बोरामा लुकाइछुपाइ लैजाँदै गरेको अवस्थामा निजको हातमा रहेको बोरा खोली चेकजाँच गर्दा चोरीको सामानसहित पक्राउ परे । उनको साथबाट एक थान पिलास, एक थान तोडेको ताल्चा, एक थान ताल्चाको चाबीजस्तो देखिने वस्तु र एक थान दराजको हेन्डलसमेत बरामद भएको छ ।

पक्राउ परेका राहुल सराफलाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।