४३ न्यायाधीशका लागि दरखास्त आह्वान : दुई सय तीन सहभागी, आठजना उत्तीर्ण

४३ न्यायाधीशका लागि दरखास्त आह्वान : दुई सय तीन सहभागी, आठजना उत्तीर्ण

 

स्पर्श खबर जितपुर बारा  जेठ ३२ गते:

जिल्ला न्यायाधीश पदका लागि न्यायसेवा आयोगले लिएको विज्ञापनमा आठजना उत्तीर्ण भएका छन् । बिहीबार आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ४३ पदका लागि आह्वान भएको विज्ञापनमा दुई सय तीनजना सहभागी थिए ।

आयोगले आन्तरिक खुलाबाट चार, खुलाबाट सात र आदिवासी/जनजातिबाट एकजनालाई अन्तर्वार्ताका लागि छनोट भएको नामसहितको सूची निकालेको छ । त्यसमा चारजनाले आन्तरिक खुला, खुला र आदिवासी जनजातितर्फ पनि नाम निकालेका छन् ।

जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्णहरूका लागि आयोगले अन्तर्वार्ताको समय ६ र ७ असारको मिति तोकेको छ । आयोगले गत २६ माघमा गरेको विज्ञापन आह्वानअनुसार २७ देखि ३० वैशाखसम्म परीक्षा सञ्चालन गरेको थियो ।

नेपालको संविधानको धारा १४९ (२)(ख) अनुसार जिल्ला न्यायाधीशको रिक्त पदमध्ये ४० प्रतिशतमा न्यायसेवाको राजपत्रांकित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाबाट नियुक्ति सिफारिस गरिने प्रावधान छ । अर्को ४० प्रतिशतमा कानुनमा स्नातक उत्तीर्ण गरी कम्तीमा आठ वर्ष वकालत गरेका, न्यायसेवाको राजपत्रांकित श्रेणीमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुन–न्यायको क्षेत्रमा अन्वेषण/अध्यापन गराएकाहरूबीच खुला प्रतियोगिताबाट नियुक्ति गरिने संवैधानिक व्यवस्था छ ।

पछिल्लोपटक पनि दुई सय ११ परीक्षार्थी सम्मिलित परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका थिए । ०८० को मध्यसाउनमा सञ्चालित परीक्षामा पारसमणि पोखरेल मात्र छनोट भएका थिए । त्यसवेला २९ न्यायाधीशका लागि दरखास्त आह्वान भएको थियो । बाँकी २८ पदमा न्यायसेवाका कर्मचारीहरूलाई न्यायपरिषद्ले नियुक्त गरेको थियो । यसमध्ये १५ जना भने परीक्षामा सहभागीसमेत नभएका थिए । १३ जनाचाहिँ अनुत्तीर्ण भएका थिए । सभार नयाँ पत्रका ।

पहिलोपटक न्यायाधीश पदका लागि ३० पदमा विज्ञापन निकालिएको थियो । जसमा ३० मध्ये ३१ जना उत्तीर्ण भएको सूचना निकाल्दै अन्तर्वार्तामा सहभागिताका लागि आह्वान गरिएको थियो । ०७४ फागुनमा प्रकाशित सूचीअनुसार उक्त परीक्षामा तीन सय ७३ जना परीक्षार्थी सहभागी थिए ।

यसैगरी, आयोगले जिल्ला न्यायाधीशका लागि लिएको दोस्रोपटकको परीक्षामा पाँच पदका लागि ९५ जनाले परीक्षा दिएका थिए । वैशाख ०७६ को निर्णयअनुसार उत्तीर्ण हुने आठजनाको सूची अन्तर्वार्ताका लागि प्रकाशन गरिएको थियो ।

०७८ फागुनमा सार्वजनिक नतिजाअनुसार तीनजना मात्र उक्त पदका लागि लिइएको परीक्षामा उत्तीर्ण भएका थिए । जब कि १८ पदका लागि दरखास्त आह्वान गरिएको थियो । जहाँ एक सय ९६ जना परीक्षामा सहभागी थिए ।

सेवामा रहेकाभित्रैबाट परीक्षामा असफल भएकालाई पनि न्यायपरिषद्ले न्यायाधीशको नियुक्ति दिने गरेको भन्दै असन्तुष्टि व्यक्त भइरहेका छन् । न्यायसेवामै रहेकाहरूबीचको प्रतिस्पर्धामा माग संख्याभन्दा कम उत्तीर्ण हुने गरेकोमा फेरि ती अनुत्तीर्णलाई नै रिक्त पदमा नियुक्त गरी पठाउने गरिएको छ ।

को–को पास भए ? 
अञ्जनराज सापकोटा, नारायण सापकोटा र मनिराम ज्ञवालीले आन्तरिक खुला र खुला दुवैतिर नाम निकालेका छन् । तिलक कार्कीले आन्तरिक खुलातर्फ नाम निकालेका छन् । खुलाबाट कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशीको नाम सूचीमा उल्लेख छ । यसैगरी खुला र आदिवासी जनजातिबाट नितिज राईले नाम निकालेका छन् ।

पाठ्यक्रममा के हुन्छ ?
हालको पाठ्यक्रमअनुसार प्रथम पत्रमा विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणाली तथा द्वितीय पत्रमा देवानी कानुन र देवानी कार्यविधि कानुनका विषयमा प्रश्न रहने गरेको छ । फौजदारी कानुन तथा कार्यविधि सम्बन्धमा भने तृतीय पत्र हुन्छ । चौथो पत्रमा मिसिल अध्ययन र समस्या समाधानका साथै फैसला तथा आदेशलेखन हुने गरेको छ ।