लाइफलाइन होइन ‘डेथलाइन’ बन्दै जनता सडक जनप्रतिनिधिको लापरवाहीले बारा र पर्सावासी जोखिममा

लाइफलाइन होइन ‘डेथलाइन’ बन्दै जनता सडक जनप्रतिनिधिको लापरवाहीले बारा र पर्सावासी जोखिममा

मनोज शाह, जितपुर, बारा – असार ४ गते:
बारा जिल्लाको जितपुरदेखि पर्सा जिल्लाको ठोरीसम्म फैलिएको ‘जनता सडक’ अहिले चिरा परेको अनुहारजस्तै जिर्ण अवस्थामा पुगेको छ। बारा र पर्साका लागि ‘लाइफलाइन’ मानिने यो सडकमा दैनिक हजारौं गाडी चल्ने भए पनि जिम्मेवार निकायहरू लापरवाह बनेका छन्।

सडकको अवस्था यति खस्किएको छ कि साना गाडी मात्र होइन, एम्बुलेन्स र स्कुले बसहरू समेत दुर्घटनाको जोखिममा छन्। “हामी टेम्पु चालक हौं। हरेक दिन यो सडकमा चल्दा डर लाग्छ, खाल्डो र धुलोको कारण यात्रु पनि रिसाउँछन्,” एक चालकले भने।

स्थानीय बिर्जु चौधरी भन्छन्, “सडकको हालत निर्माणको दिनदेखि नै राम्रो थिएन। ठेकेदार र नेता मिलेर पैसा कमाउने खेल मात्रै खेले। आज हामी त्यो भ्रष्ट प्रवृत्तिको सिकार भएका छौं।”

जनप्रतिनिधिहरूका भाषण सडक सुधारका वाचा मात्रै बनेका छन्, कार्यान्वयन शून्य छ। वर्षायाम सुरु भएसँगै सडकमा खाल्डो होइन, पोखरी बन्न थालेका छन्।

यस सडकको बेवास्ता सरकारको प्राथमिकतामा जनताको जीवन र सुरक्षाको मूल्य कति छ भन्ने गम्भीर प्रश्न उठाउँछ।